जित्ने सम्भावना भएकालाई एमालेको टिकट

काठमाडाैं | भदौ ११, २०७९

जित्ने सम्भावना भएकालाई एमालेको टिकट तस्बिर फाइल

 

नेकपा (एमाले)ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । 

 

भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो

। 

पार्टीले समानुपातिकतर्फको बन्दसूचीका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशी र अवसरको न्यायोचित वितरणलाई समेत ध्यान दिन जिल्ला कमिटीबाट सिफारिस गर्न निर्देशन दिएको छ । जिल्ला कमिटीले सिफारिस गरेको उम्मेदवारको प्रदेश कमिटीले आफ्नो राय भए सोसमेत उल्लेख गरेर केन्द्रमा पठाउने र केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिकतर्फको निर्णयलाई पुनःविचार गर्नसक्ने उहाँले बताउनुभयो । 

 

जिल्लाको सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको सिफारिस गर्नेछन् । यस्तै एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको सिफारिस गर्ने र प्रदेशसभा सदस्यको उम्मेदवारको सिफारिस पनि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्नेछ । 

 

यसरी सिफारिस गर्दा जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो रायसमेत उल्लेख गरी सिफारिस गर्नुपर्नेछ । उहाँका अनुसार मातहतका कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका कम्तीमा एक जना महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ । 

 

एमालेले निर्वाचनका लागि उम्मेदवारको छनोटका पाँच वटा मापदण्ड तय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता तथा निर्वाचन कानूनबमोजिमको योग्यता रहेका छन् । 

 

लोकप्रियलाई टिकट

 

यस्तै पार्टीले जित्ने सम्भावना र संसदीय भूमिका प्रभावकारी भएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै पार्टीले समानुपातिक उम्मेदवार नदोर्‍याउने निर्णय गरेको छ । उहाँले समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी अवसर प्राप्त गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकलाई पुनःसोहीमा दोहोर्‍याउने र पालैपालो वितरण प्रणाली लागू गरिने जानकारी दिनुभयो । 

यस्तै पार्टीले स्थानीय तह वा कुनै पनि तहमा बहालवाला जनप्रतिनिधिलाई राजिनामा गराएर प्रतिनिधि वा प्रदेशसभामा उम्मेदवार सिफारिस नगर्नेसमेत निर्णय गरेको छ । पहिलो पटक भएको कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवार कसैलाई पनि प्रदेशसभा वा प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउनेसमेत निर्णय गरेको छ । 

 

बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीले निर्धारण गरेको मापदण्ड पूरा भई योग्य उम्मेदवारको चयन गरी औपचारिक मनोनयन र बन्दसूचीको निर्णय गर्ने अधिकार भने केन्द्रीय कमिटीकोतर्फबाट केन्द्रीय सचिवालयलाई प्रदान गरेको छ ।


 
यसरी सचिवालय बैठकले गरेको उम्मेदवारलाई मनोनयन पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्ने दलको केन्द्रीय कमिटीकोतर्फबाट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ । बैठकले प्रत्येक मतदान केन्द्रमा निर्वाचन परिचालन बुथ कमिटी गठन निर्णय गरेको छ । 

 

स्थानीय निर्वाचनमा प्रत्येक कमिटीका सदस्यलाई घरधुरी ताकेर परिचालन गर्ने र पार्टीलाई आवश्यक पुर्‍याउन ६ प्रतिशत मत वृद्धिका लागि हरेक पार्टी सदस्यले नयाँ दुई भोट थप्ने पाँच भोट संरक्षण गर्ने नीति बैठकले लिएको उहाँले बताउनुभयो । बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि सुझावसहित पारित गरेको छ । 

 

सदस्यको समस्या समाधान

 

बैठकले दोहोरिएका सङ्गठित सदस्य नम्बरलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङले दोहोरिएका सदस्यमध्ये सबैभन्दा पुरानो सदस्यको नम्बर कायम राखी बाँकी सदस्यलाई विशेष नम्बर दिने र त्यस्तो विशेष नम्बर १४ लाख ३१ हजारबाट १५ लाखसम्मको कल्स्टरमा व्यवस्थित गर्ने उल्लेख गरिएको बताउनुभयो । 

 

यसअघि पार्टीको सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो निर्णय केन्द्रीय कमिटी बैठकले निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल, निर्वाचन परिचालन कमिटी, १२ विभागको सचिवको मनोनयन र तीन विभाग विस्तार, स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, पार्टीको वार्षिक बजेट र पार्टी प्रवेश गरेकाको व्यवस्थापनको कामसम्बन्धी प्रस्ताव, केन्द्रीय सल्लाहाकार परिषद्मा मनोनयन र केन्द्रीय कमिटीमा मनोनयन गरिएको प्रस्तावलाई अनुमोदन गरेको छ । 

 

बैठकले भारत प्रवासको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण र प्रतिष्ठानको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण गर्नका लागि खगराज अधिकारीको संयोजकत्वमा कार्यदल  गठन गरेको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजत्वमा स्थानीय तह  निर्वाचनमा अन्तरघात भएको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले कामका प्रगतिबारे जानकारी गराएको थियो ।
–––

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्